आजदेखि लोडसेडिङ अन्त्य भएको दाबी


 


काठमाडौं, वैशाख ३१
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा हिजोसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्