‘दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा’


 


काठमाडौँ, वैशाख ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले भन्नुभयो, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”

राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उहाँले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छाँै । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै ।

हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।” दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताउँदै उहाँले भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, “ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।” प्रधानमन्त्रीले एउटै पनि शब्द, काम र व्यवहार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रश्नमा कमजोर हुन नदिएको तथा राष्ट्रिय हित विपरीत नरहेको स्पष्ट पार्नुभयो ।

“हाम्रा दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जानेछु ”, उहाँले भन्नुभयो । नेपाली जनताले गल्ती, कमजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक ढंगले लिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उहाँले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो । रासस

 

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्