विप्लवको बन्द: ठाउँठाउँमा विस्फोट, आगजनी र तोडफोड


 


काठमाडौं, वैशाख ३०
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता गरेको भन्दै आज नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । विप्लवको बन्दै आह्वान गरेसंगै

आज विहानैदेखि सवारी साधनमा आगजनी, विभिन्न ठाउँमा बम विस्फोट, तोडफोडलगायतका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएको छ भने चितवनको भरतपुरमा रहेको ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा बम विस्फोट भएको भाटभटेनीको सिसा फुटेको छ ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबाररी र सुरुङ्गामा बम विस्फोट भएको छ ।

झापाकै सितापुरीमा एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरिएको छ । यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको महिमा चर्चमा हिजो राति ११ बजे नै बम विस्फोट गरिएको छ । विस्फोटबाट पर्खाल र एक दराजमा क्षति पुगेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्