मोदी आएकै दिन हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी पक्राउ


 


कपिलवस्तु, वैशाख २९

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरू कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताउनुभयो । नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरूलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो ।

भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्शाएको कृष्णनगरका सर्वसाधारण बताउँछन् । रासस

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्