पेट्रोलियम ढुवानी घोटाला प्रकरण: उपनिर्देशकसहित १७ जनालाई जेल सजाय


 


काठमाडौं, वैशाख २९
भारतबाट रुपन्देहीसम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालाका दोषीलाई जेल सजाय सुनाइएको छ ।

चार वर्षअघि भएको घोटालामा निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मीसहित १७ जनालाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्दामा अदालतले निगमका उपनिर्देशकसहित प्रबन्धकद्वय दीपेन्द्र बस्नेत र रविनकुमार रावतलाई डेढ वर्ष जेल तथा ६ लाख ७० हजार ९ सय १० रुपैयाँ बिगो असुल गर्न आदेश दिएको छ ।

न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले फैसला सुनाएको हो ।  भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीस्थित डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा निगमका कर्मचारीकै संलग्नतामा बाटोमै इन्धन चोरी हुने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

अदालतले इन्धन कारोबारीहरू सुरेशप्रसाद उमरलाई १ वर्ष जेल र विनोद उप्रेती, विकास क्षेत्री तथा रामचन्द्र अधिकारीलाई ३–३ महिना जेल सजायको फैसला गरेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्