ख्याति कमाएको लोकसेवा प्रदेशमा ‘भर्तीकेन्द्र’ बन्न सक्ने, यस्तो छ व्यवस्था
काठमाडौं, वैशाख २९
केन्द्रीय लोकसेवा आयोगले योग्यता र दक्षताका आधारमा कर्मचारी छनोट गरी ख्याति कमाउँदै आएको अवस्थामा प्रदेशमा पनि गठन हुने भएपछि भर्ती केन्द्र बन्न सक्ने आशंका गरिएको छ ।
संविधानको धारा २४४ को उपधारा १ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन हुने व्यवस्था छ। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रदेशमा अब बन्ने लोकसेवा आयोग निष्पक्ष बन्न सक्दैन कि भय रहेको बताए । आजको अन्नपूर्णमा खबर छ ।
सातै प्रदेशका सरकारको आग्रहमा केन्द्रले प्रदेश लोकसेवा आयोग गठन गर्न आवश्यक नमुना कानुन बनाउने गृहकार्य अन्तिम चरणमा पुर्याइरहेको बेला प्रदेश लोकसेवा पनि केन्द्रजस्तै निष्पक्ष हुनुपर्ने आवश्यकता औंल्याइएको हो।
संघीय संसद्ले प्रदेश लोकसेवाको मापदण्ड र आधारसहितको कानुन बनाउन सक्ने भएकाले सोही कानुनमा केन्द्रीय लोकसेवाजस्तै एउटा प्रणालीमा चल्न सक्ने प्रदेश लोकसेवा बनाउन आफूहरूले सरकारलाई सुझाव दिएको जानकारी मैनालीले दिए।
अन्य पूर्वप्रशासकहरूले पनि प्रदेश लोकसेवा आयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयको विभागका रूपमा रहन सक्ने र त्यसले लोकसेवाको ओजपूर्ण छविमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार