सिन्डिकेट अन्त्यको घोषणापछि पनि समिति कायमै


 


काठमाडौं, वैशाख २८
यातायात सिन्डिकेट औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेको सरकारले यात्रुबाहक सवारीसाधनको टिकट काट्ने जिम्मा भने यातायात समितिलाई नै दिएको छ ।

संक्रमणकालका लागि भन्दै सरकारले समितिहरूलाई विगतमा जस्तै टिकट काट्ने छुट दिएको हो । गोंगबु बसपार्कबाट छुट्ने गाडीका हकमा भने समितिहरूले लोत्से बहुउद्देश्यीय प्रालिको ब्यानरमा टिकट काट्नुपर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

बसपार्कभित्रबाट गाडी छुट्ने सबै समितिको टिकट बिक्री गतिविधिमा लोत्से र ट्राफिक प्रहरीले संयुक्त अनुगमन गर्छन् ।

ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबु बसपार्क व्यवस्थापनको ठेक्का पाएको कम्पनी हो । नयाँ बसपार्कबाहेक अन्यत्र स्थानबाट छुट्दै आएका सवारीसाधनको हकमा भने समितिहरूले पुरानै व्यवस्थापनमा टिकट काट्न निरन्तरता पाएका छन् ।

सीधै बसलाई नै टिकट बेच्ने सुविधा दिँदा बढी भाडा लिने, बस नै नआउने, गन्तव्यसम्म नपुग्ने खतरा भएकाले प्रालिको ब्यानरमा टिकट काट्न दिइएको लोत्से प्रालिका एचआर म्यानेजर पंकज मल्लले बताए ।

‘सरकारले पनि तीन महिना समय छ भनेकाले हामीले समितिलाई टिकट काट्न दिएका हौँ,’ उनले भने । पहिलेजस्तै टिकट काट्ने व्यवस्था मिलाइएकाले यात्रुहरू पनि अलमलमा नरहेको उनले बताए ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क एरियाका इन्चार्ज प्रहरी निरीक्षक प्रताप पौडेलले समितिअन्तर्गत सञ्चालनमा रहेका बसले यसअघिझैँ पुरानै रुटमा नियमित सेवा दिँदै आइरहेको बताए ।

यसअघि कम्पनी नियमअन्तर्गत दर्ता हुनुपर्ने सरकारी निर्णयको विरोधमा उत्रिएपछि गंगबु बसपार्कमा रहेका समितिका सबै टिकट काउन्टर सरकारले हटाइदिएको थियो । अधिकांश समितिका बस कम्पनीअन्तर्गत दर्ता हुन बाँकी नै छन् ।

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्