पक्राउ परेका यातायात व्यवसायीलाई एक वर्षसम्म कैद गर्ने तयारी


 


काठमाडौं, वैशाख २३
सिन्डिकेट खारेजीको विरोधमा यातायात अवरुद्ध गर्दै आन्दोलनमा रहेका यातायात व्यवसायीहलाई सरकारले एक वर्षसम्म कैद गर्ने तयारी गरेको छ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार कारबाही अघि बढाउने तयारी गरेको हो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रवक्ता तथा एसपी नरेन्द्र उप्रेतीले आवश्यक सेवा अवरुद्ध गरेको आरोपमा पक्राउ परेकालाई कानुनअनुसार बढीमा एक वर्षसम्मको कैद सजाय र एक हजार रुपैयाँसम्मको जारिवाना हुनेछ । यही कानुनी व्यवस्थाअनुसार नै आइतबारदेखि प्रक्रिया थालिनेछ ।

‘सिन्डिकेट’ त्यागेको र भविष्यमा यस्तो हडताल नगर्ने लिखित प्रतिबद्धता प्राप्त भए उनीहरूलाई न्यूनतम सजाय हुने गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । त्यसो गर्दा उनीहरू २४ दिन थुनामा बस्नुपर्नेछ । तर, उनीहरूको सम्पत्तिमाथिको छानबिन कुनै पनि अवस्थामा नरोकिने सरकारले जनाएको छ ।

शनिबार मात्रै यातायात अवरुद्ध गर्ने योजना बनाइरहेका वेला बैठकमै हस्तक्षेप गरेर प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच पदाधिकारी पक्राउ गरेको छ । देशभर ११५ जना यातायात व्यवसायी पक्राउ परेका छन् । उनीहरु सबैलाई कारबाही गर्ने तयारी सरकारको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्