पत्रकार महासंघ ७ नम्बर प्रदेश अध्यक्षमा शाह विजयी
धनगढी, वैशाख २२
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. ७ को ऐतिहासिक पहिलो प्रदेश अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । प्रेस चौतारीको तर्फबाट उम्मेदवार बनेका शाहले प्रतिद्वन्द्वी चौतारीकै हरि जोशीलाई १ सय १८ मतले पराजित गरे ।
प्रदेश नम्बर ७ को महासंघको अध्यक्ष प्रेस चौतारीको भागमा परेको थियो । अध्यक्षका लागि मात्रै भएको निर्वाचनमा खसेको ६ सय ६० मतमध्ये शाहको पक्षमा ३ सय ६९ र जोशीको पक्षमा २ सय ६१ खसेको थियो ।
प्रदेशका नौंवटै जिल्लामा मतदानको व्यवस्था गरिएको थियो । जसमा मतपरिणाम अनुसार दार्चुलामा अर्जुन शाह ९, बैतडीमा ३२, डडेल्धुरामा २४, डोटीमा १८, बाजुरा २७, अछाम ५३, बझाङ ३७, कैलाली १ सय र कञ्चनपुरबाट ८९ मत पाए ।
यस्तै निकटत प्रतिद्धन्द्धी हरिदत्त जोशीले दार्चुलामा ११, बैतडीमा १३, डडेल्धुरामा ३४, डोटीमा २२, बाजुरा १८, अछाममा २७, बझाङ ४, कैलाली ४३ र कञ्चनपुरबाट ८९ मत पाएका छन् । दार्चुलामा १९ र अछाममा १ वटा मत बदर भए । प्रदेश भरीकै निर्वाचनमा दार्चुलामा २० मत सदर र १९ मत बदर भएको हो ।
सात नम्बर प्रदेशको अध्यक्ष पदको लागि केन्द्रमा चौतारी विभाजित थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतले चौतारीको आधिकारीक हरिदत्त जोशी भएको भन्दै शाहलाई १० वर्ष निकाला गरिएको विज्ञप्ती सार्वजनिक गरेका थिए भने चौतारीका महासचिव राजेश राईले शाह नै आधिकारीक भएको भन्दै छुट्टै विज्ञप्ती निकालेका थिए । चौतारीमा भएको विवादमा प्रेस युनियन र प्रेस सेन्टरमा पनि विवाद बढेको थियो ।
नेपाल पत्रकार महासंघले प्रदेश कमिटी चयनका लागि सार्वजनिक गरेको प्रदेश नं. ७ का मतदाताहरुको सूचि अनुसार जम्मा ९ सय ९७ मतदाता रहेका थिए । प्रदेश नं. ७ मा प्रेस चौतारीको भागमा अध्यक्ष सहित महिला उपाध्यक्ष, कोषाध्यक्ष, खुल्ला सदस्य एक, महिला सदस्य दुई र मधेशी सदस्य एक जना गरी सातवटा पद पाएको थियो ।
महासचिव सहित समावेशी सचिव, खुल्ला सदस्य दुई, आदिवासी जनजाती एक र मधेशी एक सिट पाएको प्रेस युनियनले पनि निर्विरोध चयन गरिसकेको छ ।
त्यस्तै, उपाध्यक्ष सहित खुल्ला सचिव, खुल्ला सदस्य दुई, महिला सदस्य एक, दलित सदस्य एक, आदिवासी जनजाती एक१ र अल्पसंख्यक एक गरि आठ वटा सिट पाएको प्रेस सेन्टरले सबै सिटमा निर्विरोध चयन गरिसकेको छ ।
प्रकाशित मिति: २२ बैशाख २०७५, शनिबार