कैलाली भ्रमण वर्ष शुभारम्भ, पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा


 


कैलाली, वैशाख २२

‘पर्यटकीय क्षेत्रको संरक्षण, सबद्र्धन एवं प्रचार–प्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ शनिबारदेखि ‘कैलाली भ्रमण वर्ष २०७५’ को शुभारम्भ गरिएको छ ।

भ्रमण वर्षको प्रदेश नम्बरको ७ को प्रबेशद्वार चिसापानीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे । वर्षको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले कैलाली भ्रमण वर्षको शुभारम्भ गर्दै ७ नं प्रदेशको पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि व्यस्तताका कारण उनी आउन नसकेपछि उपप्रधानमन्त्री पोखरेलले भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको भ्रमण वर्षको उदघाटन कार्यक्रममा सहभागी हुन् पर्यटन मन्त्री रबिन्द्र अधिकारी, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओबादी नेता लेखराज भट्ट, सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, कैलाली क्षेत्र नम्बर पा“चका प्रतिनिधि सभा सदस्य नारदमूनि रानालगायत जनप्रतिनिधीहरु, पर्यटनव्यवसायीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति कैलालीको संयोजनमा जिल्लाका १३ वटै स्थानीय तहको सहकार्यमा सुरु भएको भ्रमण वर्षभरीमा जिल्लाका सबै धार्मिकस्थल, सांस्कृतिक र पर्यटकीय क्षेत्रको भ्रमण गरिने कार्यक्रम रहेको छ ।

भ्रमणको पहिलो दिन शनिबार अतिथीहरुलाई पितमारीबाट चिसापानीसम्म र्याफटिङ गराइएको छ । भ्रमण बर्षले आन्तरिक र बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुने अपेक्षा समेत लिइएको छ ।

कैलाली जिल्ला प्रदेश नं ७ को प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभई समग्र प्रदेशको प्रचूर आर्थिक सम्भावना बोकेको जिल्ला भएकाले यसको प्रचारप्रसारका लागि भ्रमण वर्षको आयोजना गरिएको हो । भ्रमण वर्षका क्रममा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको वासस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

जिल्लामा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर बृहत् उद्यान, घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजनन् केन्द्र, वसन्ता जैविक मार्ग, खानीडाँडा जस्ता रमणीय–दर्शनीयस्थल तथा गोदावरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् ।

प्रकाशित मिति: २२ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्