फुच्चे गायक
ती प्रेम यी प्रेम परियार
क्रान्ति पाण्डे
आजभोली ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत युटुबमा चर्चित हुँदै गएको छ । यो गीतलाई सुन्ने र हेर्नेको संख्या पनि बढ्दै गएको छ । फिल्म नाइँ न भन्नु ल २ को गीत हो यो । गीतमा सानो मान्छेको स्वर सुन्न सकिन्छ । सुरिलो स्वर गाउने मान्छे भने धादिङका प्रेम परियार हुन् । उनी अहिले तेह्र वर्षका मात्र भए । यो गीत चलेसँगै प्रेम सामाजिक सञ्जालभरि हट केक हुन थालेका छन् । उनको खोजी गर्नेको संख्या पनि बढ्दै गएको छ । अझ उनलाई रामकृष्ण ढकाल २ भन्ने पनि धेरै छन् । ‘तर मलाई प्रेम परियार नै भनेर चिनिनु छ ।’, प्रेम सबैलाई एउटै उत्तर फर्काउँछन् । ‘फिल्मका गीतका लागि बाल गायक खोजीरहँदा युटुबमा प्रेमको गीत मित्र शिविन दाहालले देखाएका थिए ’, निर्देशक आचार्यले भने,‘राम्रो आवाज खोजिरहँदा प्रेमको राम्रो लाग्यो ।’ गीत नसोचेको रुपमा चर्चित भइरहँदा आचार्य पनि दंगदास नै छन् । सानैदेखि गीत गाउन थालेका प्रेम फिल्ममा गीत गाउन पाउँदा रमाइलो लागेको बताउँछन् । ‘पहिलोपटक स्टुडियोमा हेडफोन लगाएर गाउँदा त असजिलो भएको थियो । पछि अंकलहरुले सम्झाएपछि गाउन बल पुग्यो ।’ प्रेम भन्छन् । प्रेमलाई गीत गाउन पाए अरु केही चाहिँदैन । उनी फुर्सद हुनासाथ गीत अभ्यास गरिरहन्छन् । प्रेमको स्वरलाई निर्देशक विकास आचार्य, संगीतकार कृष्णहरि बराल, संगीत निर्देशक सुरेश गैरे लगायतका मानिसहरुले प्रशंसा गरिसकेका छन् । केही वर्षअघि उनले गाएको ‘मलाई यो जीन्दगीले कहाँ पु¥यायो’ बोलको गीत कसैले युटुबमा राखिदिएको थियो । त्यसबेला सबैजसोका मोबाइल मोबाइलमा थियो त्यो भिडियो । बिचमा गुमनामजस्तै भएका उनलाई फेरि हाइहाइ बनाइदिएका छन् फिल्म नाइँ नभन्नु ल २ का गीतले । प्रेमको स्वर नेपालमा मात्रै गुञ्जेको छैन । उनले कोरिया, कतार र हङ्कङमा गएर आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन् । फिल्म नाइँ नभन्नु ल दुईमा शिर्ष गीत जोडेर तीन गीत गाएका छन् । ‘यी आँखामा तिमी छौं’ बोलको गीत पनि निकै चलेको छ । सुरिलो स्वर सुनेपछि उनलाई बधाईको ओइरो पनि आइरहेको छ । ‘गीत सुनेपछि राम्रो प्रतिक्रिया पाएको छु । मलाई अझै राम्रो काम गर्न बल पुगेको छ ।’, युनाइटेड स्कुलमा कक्षा पाँचमा पढ्दै आएका प्रेमले भने ।धादिङको मलेखु मूल घर भएका प्रेम तिन वर्ष देखि कुपण्डोलस्थित कलाकार शिशिर राणाको घरमा बस्दै आएका छन् । पाँच छ वर्षको उमेरदेखि गीत गाउन थालेका प्रेमको गायन यात्रा पनि रोचक नै छ । काठमाडौंमा आउनु अघि उनी मलेखुका होटल होटल डुलेर गीत गाउँदै हिँड्थे । गीत गाए वापत उनलाई केहीले पैसा दिन्थे । केहीले राम्रो गीत गाएको भनेर प्रशंसा पनि गर्थे । मलेखुमै छँदा गीत गाएरै उनले दैनिक रुपमा चार पाँच हजार रुपैंयासम्म पाउँथे पनि । ‘गीत सुनेपछि धेरैले काठमाडौं जान्छौ भनेर सोध्थे ।’, हाँस्दै प्रेमले भने । तीन वर्ष अगाडिकै कुरा हो । शिशिर राणा र सुशिल क्षेत्री परिचय फिल्मको सुटिङ सकाएर काठमाडौं फर्कदैं थिए । उनीहरुले मलेखुमा रोकिएर खाना खाँदै गर्दा प्रेम अगाडि आएर गीत गाउने प्रस्ताव राखेछन् । ‘सानो बच्चाले पैसा माग्न गीत गाउन खोजेको जस्तो लागेको थियो । तर उसको गीत सुनेर हामी त तीन छक्क प¥यौं’,तीन वर्ष अगाडीको कुरा सम्झदै शिशिरले भने, ‘प्रतिभाशाली फुच्चे त्यसरी गाउँदै हिँडेको देख्दा मलाई माया लाग्यो । अनि काठमाडौं ल्याएँ ।’ प्रेम कुपण्डोलमै रहेको सुरशाला संगीत विद्यालयमा संगीत सिक्दै आएका छन् । गीत गाउँदै पढ्दै गर्नु पनि मुश्किलकै काम हो । तर प्रेमले यि दुवै कुरालाई एकसाथ लगिरहेका छन् । ‘गीत गाउन विदेश गएकै बेला एकपटक पढाई साह्रै बिग्रेकाले एक वर्ष होस्टलमा पनि राखें । पढाई सुध्रदैं गएपछि फेरि घरमै ल्याएँ ।’ शिशिरले भन्छन् । आजभोली पढाइ पनि ठिक हुँदै गएको शिशिर बताउँछन् ।शिव परियार, प्रमोद खरेल, रामकृष्ण ढकाल प्रेमलाई मनपर्ने गायक हुन् । ‘सबैभन्दा मनपर्ने त शिव परियार अंकल हो’, प्रेमले भने, ‘शिव अंकललाई उहाँकै गीत क्या दामी भो सुनाएको थिएँ । उहाँले आफ्नोभन्दा राम्रो गाएको भन्दै हुनुहुन्थ्यो ।’ भविष्यमा गएर गायक बन्ने सपना राखेका प्रेम फुर्सद भएको गीत गाइहाल्छन् ।काठमाडौंमा बसे पनि बारम्बार घरपरिवार र गाउँका साथीभाइहरुको याद आइरहन्छ प्रेमलाई ।‘काठमाडौंभन्दा त गाउँ नै राम्रो हो । हरियाली छ । यता त लोडसेडिङ हुँदा नरमाइलो लाग्छ’, प्रेमले भने, ‘लामो छुट्टि हुँदा घरमा जाने गरेको छु । तर फोनमा त कुरा भइरहन्छ नि ।’ गाउँमा छँदा साथीहरुसँग खोलामा खेलेको कुरा सम्झना आइरहन्छ उनलाई । हिन्दी र नेपाली दुवै भाषाका गीत सुनिरहन्छन् उनी । प्रेम फुर्सदमा गीत अभ्यास गर्न, नाच्न र फुटबल खेल्न मनपराउँछन् ।
मलाई यो जीन्दगीले कहाँ पु¥यायो
प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार