यातायात व्यवसायीको हड्तालविरुद्ध सरकार, दियो अर्को चेतावनी


 


काठमाडौं, वैशाख २१
सिण्डिकेट हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायता व्यवसायीलाई सरकारले अर्को चेतावनी दिएका छ । हडतालको समर्थन गर्दै गाडी नचलाउने सवारीसाधनको रुट नै खारेज गरिदिने चेतावनी हो । नयाँ पत्रिकामा खबर छ ।

यसबाहेक, यातायात व्यवस्था विभागमा कम्पनीअन्तर्गत दर्ता भएका २२ कम्पनीका ६१९ गाडी गुडाउने तयारी छ । देशभर ५० प्रतिशत सवारी गुड्ने अपेक्षा गरेको विभागले सबै सवारीसाधनका लागि सुरक्षाको बन्दोबस्त मिलाएको पनि बताएको छ ।

सरकारले यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने कानुन कार्यान्वयनमा ल्याएको विरोधमा यातायात समितिहरूले शुक्रबार मातहतका सबै सार्वजनिक यातायात ठप्प पार्ने कार्यक्रम राखेका छन् ।

सरकारले गत १८ चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामार्फत पञ्जीकरण नगरी रुट अनुमति नपाउने कानुन कार्यान्वयनमा ल्याएको थियो ।

त्यसपछि ४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण नहुने र नयाँ दर्ता नगरिने निर्णय गरेको थियो । लगत्तै सरकारी निर्णयको यातायात व्यवसायीहरुले विरोधमा कार्यक्रम सार्वजनिक गरेका थिए ।

एनजिओ (गैरसरकारी संस्था)का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता तथा नवीकरण हुँदै आएका ती समिति करको दायरामा आउनुपर्ने र आलोपालो प्रणालीमार्फत सिन्डिकेट गर्न नपाएपछि विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति: २१ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्