प्रदेश ७ को पहिलो संसद अधिवेशन सकियो, सुनिएन ‘हुन्न’


 


धनगढी, वैशाख २०
प्रदेश नम्बर ७ को पहिलो संसद अधिवेशन विहीबार सकिएको छ । गएको माघ २१ पहिलो बैठक बस्दै सुरु भएको संसद अभिवेशन २१ औं बैठक बसेपछि अन्त्य भएको हो ।

प्रदेश प्रमुख मोहनराज मल्लले संसद अधिवेशन अन्त्य भएको पत्र बाचन गर्दै सभामुख अर्जुनबहादुर थापाले संसद अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो । विहीबार प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख मोहनराज मल्ललाई संसद अधिवेशन अन्त्यका लागि आग्रह गर्दै पत्राचार गरेको थियो ।

पहिलो बैठक बसेको ठिक तीन महिनामा पहिलो संसद अधिवेशन अन्त्य गरिएको हो । यसअधिमा २१ पटक बैठक बसेको छ । कुल २२ घण्टा ५० मिनेट बैठक बसेकोसंसद सचिवालयले जनाएको छ ।

पहिलो अधिवेशनमार्फत प्रदेशसभा नियमावली पारित, प्रदेशसभा नियमावली अन्तर्गतका विषयगत समिति गठन, प्रदेशको लागो निर्धारण, प्रदेशको आर्थिक कार्यविधि पारित, अल्पकालिन बजेटलगायतका काम गरेको सभामुख थापाले संसदलाई जानकारी गराए ।

संसदमा पहिलो अधिवेशनमा कुनैपनि सांसद वा दलबाट कुनै विधेयक वा प्रस्तावमा हुन्न भन्ने आवाज सुन्न पाइएन । धेरै विषयमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका १४ सांसदले हुन्छ भनेका थिए भने केही विषयलाई मौन समर्थन जनाए ।

संसदको पहिलो अधिवेशन सकिदा प्रतिपक्ष दलले सहमति र सहकार्यका लागि पार्टी भन्दा माथि उठेर प्रदेशको लागि निर्णय प्रक्रियामा सहभागिता जनाइएको बताएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्