जागिर गरेको दुई वर्षमै करोडौं सम्पति, कसरी भयो सम्भव ?


 


काठमाडौं, वैशाख २०
वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गर्ने एक लेखा अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

सामान्य आर्थिक अवस्था भएको परिवारका लेखा अधिकृत रविनचन्द्र ढकालको खातामा सेवा प्रवेशको दुई वर्षमै करोडौं रकम देखिएपछि उनीमाथि छानबिन सुरु भएको हो। अन्नपूर्णमा खबर छ ।

कटारी नगरपालिकामा कार्यरत लेखा अधिकृत ढकालले भ्रष्टाचार गरेको सूचना पाएपछि अख्तियारले वैशाख १२ गते ज्ञानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको छ। उनी सिन्धुलीका हुन्। आर्थिक वर्ष ०७४÷७५ मा सामाजिक सुरक्षालगायत अन्य शीर्षकमा विनियोजित बजेटमा ठूलो घोटाला भएको आशंका अख्तियारको छ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार कटारीमा सरुवा भएको डेढ महिनाबीचमा नगरपालिकाको चार करोड रुपैयाँ अधिकृत ढकालको निजी खातामा देखिएको छ। आफ्ना साढुभाइ गोविन्द पोखरेलबाट आफ्नी पत्नीलाई बकस दिएको भनिएको काठमाडौं ज्ञानेश्वरको बहुमूल्य जग्गाबारे पनि शंका उत्पन्न भएपछि छानबिन सुरु भएको छ।

ढकालको मंसिरमा मात्र विवाह भएको थियो। कोष तथा लेखानियन्त्रक कार्यालयमार्फत कटारी नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा निकासा भएको रकम ढकालले व्यक्तिगत खाताहरूमा स्थानान्तरण गरेको भेटिएको हो।

ढकाललाई अदालतबाट १० दिनको थुना अनुमति लिएर छानबिन भइरहेको छ। ढकालले विभिन्न सहरमा खरिद गरेको करोडौंको जग्गाको चर्चा सुनेर अख्तियारका अधिकारी छक्क परेका छन्।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्