‘बुलेट बाइक’ दाइजो नपाउँदा बुहारीको घाँटी थिचेर हत्या


 


वीरगन्ज, वैशाख २०
‘बुलेट बाइक’ दाइजो नल्याएको भन्दै बीरगञ्जमा एक महिलाको घाँटी थिचेर हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा सासु ससुरासहित परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेका हुन् ।

कतारमा रहेका महिलाका श्रीमान अफरोजले मोटरसाइकल ल्याउन भन्दै छोरीलाई दवाव दिने गरेको मृतक अन्जुमकी आमा रोशन जहानले बताइन् । उनले आफूलाई फोन गरेर बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् ।

उनले बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएपनि अहिले फेरि बुलेट मोटरसाइकल माग्ने गरेको बताइन् ।

अन्जुमका श्रीमानले घरमै छदाँ दाइजोको निहुँमा पटक पटक यातना दिने गरेको माइती पक्षको आरोप छ । प्रहरीले मंगलबार घरको कोठामा अन्जुमको शव शंकास्पद अवस्थामा फेला पारेपछि घटना सार्वजनिक भएको हो । प्रहरीले अन्जुमका सासु, ससुरासहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मृतक अन्जुमका ससुरा ५० वर्षीय कमरुद्धिन फकीर देवान, सासु ४५ वर्षीया हुसेन बानो खातुन, नन्द अंगुरी खातुन र फुपू(सासु ३५ वर्षीया जमीला खातुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्