अखिल बैठक जेठ ४ र ५ गते


 


काठमाडौँ, १९ वैशाख
नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ ।

लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुले जनाएको छ ।

प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो । बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उहाँलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने भएको छ ।

सांसद भएपछि अध्यक्ष लामाले कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिनुभएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने बताइएको छ ।

विसं २०७२ फागुनमा भएको २२ आँै राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने बताइएको छ । प्रत्येक दुई वर्षमा अखिलको महाधिवेशनको व्यवस्था गरिएको छ । अखिलमा अहिले १५४ जनाको केन्द्रीय कमिटी रहेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्