विमानस्थलबाट यसरी हुन्छ सुन तस्करी, पूर्वएआईजीले गरे खुलासा


 


काठमाडौं, वैशाख १९
पूर्वएआईजी विज्ञानराज शर्माले विमानस्थलबाट हुने सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् । उनले विमानस्थलबाट तस्करहरुले कसरी सुन तस्करी गर्छन् भन्ने कुरा खुलाएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

उनकाअनुसार तस्करहरुले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएपछि एयरलाइन्सका कर्मचारीसँग मिलेमतो गर्छन् । तेस्रो लेयरमा उनीहरूको सेटिङ प्रहरीसँग हुन्छ, सँगसँगै अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्कर प्रत्यक्ष रूपमा देखिँदैनन् ।

भन्सार र अध्यागमनका कर्मचारीमार्फत सेटिङ मिलाउँछन् । विमानस्थलमा सेटिङअनुसार मान्छे तयार भएपछि मात्रै तस्करले जहाजमार्फत सामान पठाउँछ । प्याक गरिएको लगेजको फोटो पनि खिचेर भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीलाई पठाउँछ ।

एयरलाइन्सका कर्मचारीमार्फत् उक्त फोटो सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करीको सामग्री पहिचान हुन्छ । लोडरले अन्य सामानसँगै यो लगेज पनि गाडीमा लोड गर्छ र भन्सार चेकजाँच कक्षमा लैजान्छ ।

भन्सारको चेक जाँच कक्षमा एक्सरे मेसिन हुन्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री सोही एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ र ग्रिन बेल्टमा पढाइन्छ । तर, तस्करले पठाएको सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखे पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ ।

किनभने तस्करले भन्सारका कर्मचारीमार्फत् उक्त सामग्रीकोे फोटो पहिले नै चेक जाँच गर्ने व्यक्तिसम्म पुर्याइसकेको हुन्छ । यसरी तस्करीका सामान सजिलै ग्रिन बेल्टबाट पास गराइन्छ र केही घन्टामै कलंकी पुग्छ । रातारात विरगन्ज हुँदै भारत पुग्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्