यसरी हुँदैछ फेवाताल अतिक्रम, पानीमूनिको जमिन पनि व्यक्तिको नाममा


 


पोखरा, वैशाख १७
देशका प्रमुख पर्यटकीय क्षेत्र फेवाताल यसरी अतिक्रमणको चपेटामा परेको छ कि जहाँ पानीमूनिको जमिन पनि व्यक्तिको नाममा रहेको पाइएको छ । जमिन अवैध रूपमा आफ्नो नाममा ल्याएर लालपुर्जा बनाएका छन् ।

दिन प्रतिदिन साँघुरिँदै गएको फेवातालको पानीमुनिको १ हजार ६ सय ९२ रोपनी ६ आना एक दाम क्षेत्रफल जग्गा व्यक्तिको नाममा लालपुर्जा रहेको भन्दै त्यसलाई खारेज गर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । कान्तिपुरमा खबर छ ।

समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा एक हजार जनाभन्दा बढी जग्गाधनीको नामसहित कित्ता नम्बर र क्षेत्रफल उल्लेख गर्दै तालकै नाममा उक्त जग्गा फिर्ता ल्याउन सुझाइएको हो ।

यो फिल्डमा नगई कोठामै बसेर कोरिएको नक्सा रहेको र यस्तो नापी कतै पनि नहुने प्रतिवेदनको ठहर छ । २०३१ सालमा फेवातालको बाँध भत्केपछि पानी सुकेको अवस्थामा २०३४ सालमा भएको नापीका क्रममा धेरै जग्गा व्यक्तिले अवैध नापी गरेका हुन् ।

२०४२ सालमा बाँध पुनर्निर्माण भएपछि पानीको आकार बढेसँगै उक्त जग्गा अहिले पानीमुनि परेको छ भने जग्गाधनीले आफ्नो जग्गा देखाउन नसक्ने अवस्था छ ।

ताल किनारबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने मापदण्ड तोकिए पनि अतिक्रमण गर्ने क्रम रोकिएको छैन । तत्कालीन पोखरा उपमहानगरपालिकाद्वारा गठित फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले २ वर्षअघिको अर्को प्रतिवेदनअनुसार मापदण्डविपरीतका २ सय ४ वटा घरटहरा बिनानक्सा बनाइएको थियो । त्यसयता पनि बनाउने क्रम नरोकिएको र के कति बने भन्ने यकिन छैन ।

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्