३३ किलो सुन प्रकरणः अनुन्धानमा संलग्न डिएसपी नै पक्राउ


 


काठमाडौँ, वैशाख १७
त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन प्रकरणमा संलग्न भएको आरोपमा प्रहरी अधिकृतहरुसमेत एकपछि अर्को मुछिनेक्रम जारी छ । यतिसम्मकी सुन प्रकरणबारे अनुसन्धानमा संलग्न प्रहरी नावय उपरीक्षक नै पक्राउ परेका छन् ।

प्रहरीले मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट म्याद गरिएको छ । उनीमाथि प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दा चलाएको छ ।

सनम शाक्यको हत्याकाण्डबारे अनुसन्धानको जिम्मेवारी पाएका केसीको सम्पर्क सुन तस्करीमा संलग्न गोरे उपनामका चुडामणि उप्रेतीसँग पाइएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ निवासी सुन व्यापारी सनम शाक्यको हत्यापछि केसी यसको अनुसन्धानमा खटिएका थिए । फागुन १९ मा शाक्यको हत्या भएपछि शव बरामद गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाबाट केसीको टोली विराटनगर गएको थियो ।

यो प्रकरणमा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसमेत तानिइसकेका छन् ।

यही प्रकरणमा पूर्वडीआईजी गोविन्द निरौला पनि पक्राउ परेर हाल मोरङ प्रहरीकै हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा छानबिन समितिले यो प्रकणमा जोडिएका २५ जना बढीलाई हिरासतमा लिइसकेको छ।

 

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्