मोदी उद्घाटन गर्न आउनुअघि जलविद्युतको कार्यालयमा बम विस्फोट


 


काठमाडौं, वैशाख १६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा उद्घाटन गर्ने भनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारीस्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा शनिबार राति बम विस्फोट भएको हो ।

विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीकाअनुसार शनिबार साढे १२ बजेतिर आयोजनाको कार्यालयमा विस्फोट भएको थियो ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि गएको माघमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा पनि अज्ञात समूहले वम विष्फोट गराएको थियो । त्यो बेला पनि पर्खालमा क्षति पुगेको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्