बेलसँग कन्याको विवाह गर्ने नेवारी परम्परा, यसरी गरियो १० जना कन्याको कन्यादान


 


बागलुङ, वैशाख १५

नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ ।

बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बाबुले कन्यादान दिएपछि विवाह सम्पन्न भएको नेपाल भाषा मंक खल बागलुङले

बेलविवाहमा दुलाहा मानेर बेलको पूजा गरिन्छ । सर्वगुणसम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ । बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ ।


कम खर्चमा एकैसाथ धेरै बालिकाको बेलविवाह गरिन्छ । खलले केही वर्षअघि पनि बेलविवाहको आयोजना गरेको थियो । विवाहको यज्ञ सञ्चालनका लागि काठमाडौँबाट नेवार पुरोहितलाई झिकाइएको थियो । पुरोहितले कलश राखी गणेश, छत्रपाललगायत अन्य देवगणको पूजापाठ गर्छन् । सामूहिक रुपमा गरिने बेलविवाहका लागि कम्तीमा पाँच बालिका आवश्यक पर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

“बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,” उहाँले भन्नुभयो, “यसको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।” बेलविवाहमा बागलुङ सदरमुकामबाहेक गलकोट र छिमेकी जिल्ला म्याग्दीका बालिका पनि सहभागी थिए । आउँदा वर्षमा पनि सामूहिक बेलविवाह आयोजना गरिने खलले जनाएको छ । विवाहको व्यवस्थापनमा बागलुङ कल्याण समाज काठमाडौँले सघाएको थियो । रासस

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्