मिस एस ई.ई.२०१८ का प्रतियोगि प्रशिक्षणमा व्यवस्त
धरान, बैशाख १२
धरान जेसीजले आयोजना गरेको टेस्टी टेस्टी मिस एस ई.ई.–२०१८ का प्रतियोगिहरुले बन्द प्रशिक्षणमा विभिन्न तालिमहरु लिईरहेका छन् ।
२०७४ चैत्र मा एस ई.ई.परिक्षा दिएर बसेका सुनसरीको धरान, भरौल, ईटहरी साथै धनकुटा, मोरङ र उदयपुरका ३० जना छात्राहरुले २०७५ बैशाख ६ गतेबाट तालिम लिईरहेका छन् ।
गत चैत्र ३० गते धरानमा सम्पन्न अडिसनबाट छनौट भएका १४ देखि १९ वर्ष उमेरका पाँच फिट उचाई भएका अविवाहित ती छात्राहरुले हाल सम्ममा डाईनामिक लिडरशीप, बैंङकिङ, फोटोसेसन, फोटो सुट, अपराध, गर्लस यु क्यान, बेसीक मेकअप, ड्रिम योर डेस्टीनेशन, डाईनिङ इटिकेट, र्यामवक/क्याटवक लगायतका तालिम लिएको धरान जेसीज तालिम ईन्सीच्युटकी सदस्य सुमित्रा राई (सन्जु)ले बताईन् ।
प्रतियोगिहरुलाई धरान जेसीजका पूर्व अध्यक्ष राजबिमल श्रेष्ठ, मोहन श्रेष्ठ, प्रकाश श्रेष्ठ, दोर्पध्वज राई, गौरब सन्ज्याल, ईलाका प्रहरी कार्यालय धरानका डि एस पी रामेश्वर पौडेल, धरान जेसीजका सदस्य दिपेन्द्र निरौला, कोरियोग्राफर ललित राई लगायतद्धारा सुनसरी टेक्नीकल कलेज, धरान फिटनेस क्लब, केके ईन्टर नेश्नल स्कुल साथै धरानका विभिन्न स्थानमा प्रशिक्षण प्रदान भईरहेको छ ।
२० दिन सम्मको बन्द प्रशिक्षण मार्फत उद्घोषणकला, प्रभावकारी भाषणकला, लाईफ स्किल, बिपद व्यवस्थापन, प्राथमिक उपचार कोर्ष, सेल्फ डिफेन्स, उत्प्रेरणात्मक, महिला अधिकार, महिला स्वास्थ्य चेतना, कार्यक्रम व्यवस्थापन, सृजनात्मक लेखन, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सम्बन्ध व्यवस्थापन (समाज, मिडिया), होम एप्लाइन्स बारे सिकाईने प्रशिक्षक मोहन श्रेष्ठले बताए ।
यसैगरी प्रतियोगिहरुलाई बराह एग्रीकल्चर फारम अवलोकन, पर्यटकिय स्थल, औधोगिक क्षेत्र, व्यवसायिक क्षेत्र, शैक्षिक प्रतिष्ठान भ्रमण गराउने, सामाजिक क्रियाकलापमा समेत सहभागि गराईने भएको छ ।
एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्दै उपयुक्त मन्च प्रदान गर्न साथै समाजमा एउटा विशिष्ट क्षमता भएको प्रतिभाको रुपमा परिचय गराउन पहल गराउने उदेश्यले पाचौ संस्करणको रुपमा यसपाली पनि धरान जेसीज भूतपूर्व क्लबको संयोजनमा प्रतियोगिता सन्चालन गरेको धरान जेसीजका अध्यक्ष अतुल श्रेष्ठले बताए ।
प्रतियोगिताको फाईनल आगामी बैशाख २९ गते धरान सभागृहमा हुने भएको छ । फाईनलको विजेताले टेष्टी टेष्टी मिस ई.ई. २०१८ को उपाधी, क्राउन, शील्ड, नगद रु.४० हजार, के.के.ईन्टरनेश्नल स्कुलमा पूर्ण छात्रवृत्ति, एक थान मोवाईल सेट, प्रमाण पत्र, क्वालिटीका प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरको रुपमा प्रर्बद्धन हुने अवसर पाउनेछन् ।
यसैगरी फष्ट रनरअपले क्राउन, शील्ड, नगद रु. ३५ हजार, सेकेन्ड रनरअपले क्राउन, शील्ड, नगद रु. ३० हजार पाउनेछन्, भने फाईनलमा टपटेन भित्र पर्न सफल छात्राहरुले के.के. ईन्टरनेश्नल स्कुलद्धारा ५० प्रतिशत छुटमा कक्षा ११ र १२ अध्ययन गर्ने छात्रवृत्ति पाउने छ ।
साथै अन्य उपाधीहरुमा प्रतियोगिहरुलाई मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डसीप, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लीन, मिस वेष्ट ड्रेसअप, मिस पर्सन्यालिटी, मिस पपुलर, मिस एक्टिभ घोषित गरिने भएको छ ।
प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार