बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव


 


धनगढी,बैशाख ११ । नयाँ शक्ति नेपालका पूर्व सभासद् तथा नयाँ शक्तिकी नेतृ लिला भण्डारीको नेतृत्वमा उनीहरु सोमबार एमालेमा प्रवेश गरेका हुन् ।प्रदेश नम्बर ७ को नेतृत्व गरेको भण्डारी कार्यकारणी सदस्य हुन् । उनी सँगै अर्की पूर्वसभासद् सुकदैया चौधरी र कतारको लागि पूर्व नेपाली राजदूत माया कुमारी शर्माले पनि नयाँ शक्ति परित्याग गरेकी छन् ।

भण्डारी पहिलो संविधानसभामा कैलाली ६ बाट माओवादीको तर्फबाट निर्वाचित भएकी थिइन् भने चौधरी समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् ।

त्यसैगरी शर्मा माओवादी केन्द्रका नेता लेखराज भट्ट श्रम मन्त्री हुँदा कतारको लागि राजदूतमा नियुक्त भएकी थिइन‍् । तीनै नेतृ पार्टीभित्र दुई लाइन संघर्षदेखि बाबुराम भट्टराईलाई साथ दिँदै अाएकी थिइन् । नयाँ शक्ति गठनसँगै सुदूरपश्चिममा संगठन विस्तारमा ठूलो भूमिका खेलकी नेतृहरुको एमालेमा प्रवेशसँगै नयाँ शक्तिलाई ठूलै धक्का लागेको छ । तीनै नेतृले नयाँ शक्तिको लागि खम्बाको रुपमा काम गर्दै अाएकी थिइन् ।चौधरी कमलरी पृष्ठभूमीबाट राजनीतिमा अाएकी हुन् भने शर्मा विद्यार्थी कालदेखि नै राजनीतिकर्मी हुन् ।

सोमबार एमाले पार्टी कार्यालयमा उनीहरुसँगै नयाँ शक्तिका अन्य करिब ६ दर्जन नेता-कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका थिए ।

नेतृ भण्डारीले एमालेको राजनीति छोडेर जनयुद्धमा पूर्णकालिन भएर काम गरेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै भण्डारीले अाफू २२ वर्षपछि घर फर्केको बताइन‍‍् ।नयाँ शक्ति प्रभावहीन बन्दै गएको भन्दै नेतृ भण्डारीले बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव दिएकी थिइन् ।

नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्