बजेट अधिवेशनको गृहकार्य सुरु, जेठ १५ गते बजेट ल्याइने


 


काठमाडौं, वैशाख ११
संघीय संसद सचिवालयले यही वैशाख तेस्रो सातादेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरेको छ ।

सचिवालयका प्रवक्ता भरतराज गौतमले अधिवेशन बोलाउने विषयबारे गृहकार्य सुरु भइसकेको जानकारी दिए । उनले वैशाख २३ देखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारलाई प्रस्ताव गर्न लागिएको बताए ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा प्रि–बजेटमाथिको छलफल प्रारम्भ गर्न आवश्यक हुने भएकाले तयारी सुरु गरिएको गौतमले बताए । असार मध्यसम्ममा बजेटमाथि छलफल टुंगिने अनुमानका साथ दोस्रो अधिवेशन तयारी गरिएको हो ।

संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आय र व्यय समेटिएको बजेट ल्याउनेछ । त्यसअगाडि संसद् बैठक आफ्नो कार्यसञ्चालन नियमावली, सरकारको नीति तथा कार्यक्रम र प्रि–बजेटमाथिको छलफलमा व्यस्त हुनेछ ।

गौतमका अनुसार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली, राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली र संयुक्त बैठकको कार्यसञ्चालन गरी तीनवटा नियमावली तयार पार्ने काम पनि भइरहेको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्