यी हुन् उपत्यका छाड्ने चर्चित गुन्डा नाइके


 


काठमाडौं, भदाै २४done

गुन्डागर्दी नियन्त्रण गर्न महाशाखाले डिएसपीको कमान्डमा समूह नै परिचालन गरेपछि पछिल्लो समय कहलिएका गुन्डा नाइकेसमेत उपत्यका बाहिर पुगेका छन्। भदौ ३ मा कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा मारिएपछि केही उपत्यका बाहिर पुगेका छन् भने केहीले आत्मसर्मपण गरे र केही पक्राउ परे।

अपराध महाशाखाका अनुसार घैंटे मारिएपछि दीपक मनाङे र गणेश लामा उपत्यका बाहिर गएका थिए। उनीहरू उपत्यका नफर्किएको महाशाखाका एक अधिकारीले जानकारी दिए। चक्रे मिलन भने उपत्यकामै छन्।

हत्या अभियोगमा फरार साजन गुरुङ सोमबार पक्राउ परेका थिए। गुरुङ नेपालगञ्जमा आत्मसर्मपण गरेका रिगल ढकाल समूहका सदस्य हुन्। घैंटे इन्काउन्टरपछि भदौ ७ मा उनले अदालतमा आत्मसर्मपण गरे पनि गुरुङ भने फरारै थिए।

महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार गुरुङविरुद्ध धादिङमा एक जनाको हत्या गरेको अभियोग छ। ‘उनी हत्या घटनाका मुख्य योजनाकार देखिएका छन्, अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

एसएसपी खनालका अनुसार उपत्यकाका संगठित गुन्डागर्दीमा कहलिएका नयाँ पुराना दुवै समूहको सुक्ष्म अनुगमन भइरहेको र प्रहरीमा उनीहरूबारे उजुरी र गुनासो आउने क्रमसमेत बढेको बताए।

आएका सूचनाको सुक्ष्म अनुसन्धान गरी कोही संलग्न देखिए नियन्त्रणमा लिइ अनुसन्धान गर्ने रणनीति अगाडि बढाइएको जानकारी दिँदै उनले भने, ‘ गुन्डासँग डरायो भने सधै दुःख दिन्छन्। उनीहरूलाई कानुन अनुसार कारबाहीका लागि प्रहरीलाई सघाए गुन्डागर्दी नियन्त्रणमा प्रहरी वचनबद्ध छ।’

प्रकाशित मिति: २४ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्