अनेरास्ववियू कावा अध्यक्षमा महेश बर्ताैला


 


काठमाडौँ, वैशाख १०

नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाउनुभएको छ ।

अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै आजैदेखि कावा अध्यक्षको काम गर्ने गरी  उहाँलाई जिम्मेवारी दिनुभएको हो ।

अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

युवा संघमा पद हस्तान्तरण

युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गर्नु भएको छ ।

युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने तथा एक युवा एक रोजगार सिर्जना गरिने बताउनुभयो ।

कार्यक्रममा सांसदद्वय तथा युवा संघका पूर्व अध्यक्षद्वय महेश बस्नेत, नीरु पाललगायतले युवा आन्दोलनलाई युवाको विषयमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

युवा संघका निवर्तमान अध्यक्ष पहारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएपछि यही वैशाख ३ र ४ गते सम्पन्न भएको संघको केन्द्रीय कमिटी बैठकले पौडेललाई निर्वाचित गरेको हो ।

बैठकले उपाध्यक्षमा किरण  पौडेल, प्रभातविक्रम कटुवाल, क्रान्ति बुर्लाकोटी, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा तथा महासचिवमा नरेश शाहीलाई चयन गरेको हो ।

विसं २०६९ फागुन ११ गते भएको संघको आठौँ राष्ट्रिय महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन ।

प्रत्येक तीन तीन वर्षमा हुने महाधिवेशन हुन नसकेपछि केन्द्रीय कमिटी बैठकले नेतृत्व चयन गर्दै आएको छ । यसअघि पाल र पहारीलाई पनि केन्द्रीय कमिटीले अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्