‘सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ भन्नेलाई चिन्नुहुन्छ ?’डिआइजी निरौलाको बयान 


 


काठमाडौँ ,बैसाख १० ।डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको बाटो देखाइदिएको छ ।

आईतबार साँझ पक्राउ पर्नुअघि तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानविन गर्नका लागी बनेको समितिले पूर्व डिआईजी निरौलासँग बयान लिएको थियो । सोमबार बिहानसम्म महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका निरौलालाई मध्यान्ह जिल्ला अदालत बिराटनगर लगेर संगठित अपराध मुद्दामा म्याद थप गरिने बताइएको छ ।

गृह मन्त्रालयमा बयान लिने अधिकारीले निरौलालाई सोधेका थिए, ‘सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ भन्नेलाई चिन्नुहुन्छ ?’ उक्त प्रश्नको जवाफ दिँदै निरौलाले भने, ‘अँ.. चिन्छु, मेरो साथी नेत्र उप्रेतिको छोरा हो ‘गोरे’ ।

फागुन १८ गते धरानमा यातना दिने क्रममा सुन तस्कर ‘गोरे’ ले मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या गरेपछि छानविन गर्न बनेको गृह–मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिसमक्ष बयान दिनका लागी पूर्व डिआईजी निरौला आईतबार मध्यान्ह काठमाडौं आएका थिए ।

श्रीमतीसहित विराटनगरमा रहेका निरौलालाई समितिले काठमाडौँ बोलाएर दिनभर गृह मन्त्रालयमा बयान लिएको थियो । बयानका क्रममा उनले चुडामणि उप्रेती ‘गोरे’का बाबु र आफूसँगै बिएस्सी पढेको र एकदमै ‘मिल्ने साथी’ भन्ने  बयान दिएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

निरौलाले ‘गोरे’ लाई चिनेको र तस्करी नगर्नका लागि समेत सम्झाएको बयान दिएपछी साँझ समितीले पक्राउ पुर्जी समेत थमाएर निरौलालाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा पठाएको थियो । गोविन्द निरौलाले त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुख भएर बस्दादेखि नै संगठीत रुपमा सुन तस्करी शुरु गरेको छानविन समितिले ठहर गरेको छ ।

गत बर्षको माघमा त्रिभुवन बिमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रिय अनुसन्धान ब्युरोले पिंगलास्थानबाट बरामद गर्दा निरौला विमानस्थलमा थिए । धरानमा सनम शाक्यलाई यातना दिने क्रममा खिचिएको भिडियोमा मृतक शाक्यले ‘डिआईजी गोविन्द मामा’ भन्दै निरौलाको नाम लिएसँगै उनीमाथि समितिले सुक्ष्म रुपमा अनुसन्धान शुरु गरेको थियो ।
३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा निरौलासहित पक्राउ पर्नेको संख्या २० जना पुगिसकेको छ । घट्नामा संलग्न भनिएका थाई एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनले माघ २२ गते त्रिभुवन विमानस्थलमै आत्महत्या गरेका थिए भने प्रेमलाल चौधरीको महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा रहस्यमय मृत्यु भएको छ ।

तस्करीको सुन हराएपछि यातना दिएर मारिएका सनम शाक्यको शव व्यवस्थापन गर्नका लागि भन्दै ‘शंकास्पद आर्थिक बार्गेनिङ’ गरेको पुष्टि भएसँगै प्रहरी प्रधान कार्यालयले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्