परिचयपत्र लिनेको लाइनमा आत्मघाती आक्रमण, ५२ जनाको मृत्यु (तस्बीरसहित)
काबुल, वैशाख १०
अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । आक्रमणमा परेर १ सय १२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ ।
नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी अन्य नागरिक झैँ उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो ।
घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतक सङ्ख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।
अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।
अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । रासस÷सिन्ह्वा
प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार