पाउलान् त बेलायतबाट नेपालीले १२ खर्ब क्षतिपूर्ति ? द्विपक्षीय वार्ताको तयारी


 


काठमाडौं, वैशाख १०
भूतपूर्व गोर्खा सैनिकले १२ खर्ब हाराहारी क्षतिपूर्ति बेलायतले दिने दावी गरेका छन् । उक्त रकम नेपालको आगामी आर्थिक वर्षको बजेट सिलिङबराबर हो ।

परराष्ट्र मन्त्रालयले रकमको यकिन भइनसकेको बताए पनि भूतपूर्व गोर्खा सैनिकको आफ्नै गणनाअनुसार १२ खर्ब एकमुष्ट क्षतिपूर्ति पाउनुपर्ने देखिएको हो । कारोबार खबर छ ।

भूतपूर्व गोर्खा सैनिकको लामो समयदेखिको बराबरीको हक तथा अधिकारको आन्दोलनलाई सम्बोधन गर्दै बेलायत सरकार क्षतिपूर्ति तिर्न राजी भएको उनीहरूले दावी गरेका छन् । अधिकार प्राप्तिको लडाइँको फलस्वरूप भूतपूर्व गोर्खा सैनिकले क्षतिपूर्तिबापत एकमुष्ट रकम तथा बर्सेनि ३७ अर्ब पेन्सन पाउन लागेको उनीहरूको भनाइ छ ।

एकमुष्ट १२ खर्ब हाराहारी क्षतिपूर्ति दिने विषयमा बेलायत सरकार तयार भएकोले नेपालले छिट्टै द्विपक्षीय वार्ता गरी उक्त रकम दावी गरिहाल्नुपर्ने भूपू गोर्खा सैनिकहरूको विभिन्न संगठनहरू एकजुट भएर बेलायतमा बनेको सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए ।

बेलायत सरकारले नेपालसँग सरकारसंग द्विपक्षीय वार्ता गर्न पत्रसमेत पठाइसकेको पनि उनले बताए । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भएको भेटघाटमा प्रधानमन्त्रीले आफूलाई पनि यस विषयमा जानकारी भएको तथा १ महिनादेखि ३ महिनाभित्र सरकारले यो मुद्दा टुंग्याउने बताएको पनि उनले जानकारी दिए ।

यअन्तर्गत आम्र्ड फोर्स मामिलामन्त्री लांककास्टरलाई गत वर्ष ४० पृष्ठ लामो प्रतिवेदन बुझाएपछि आफ्नो आन्दोलनले सफलताको बाटो टेकेको दावी गर्दै पूर्व गोर्खा राईले नेपाल सरकारले अब गम्भीर रूपमा वार्ता गरी क्षतिपूर्तिको मुद्दा टुंग्याउनुपर्ने बताए ।

गत वर्ष गोर्खा, नेपाली राजदूतावास र बेलायत सरकारबीच भएको त्रिपक्षीय वार्तामा पनि लांककास्टर सहभागी थिए । वार्तापछि लांककास्टरले गोर्खाहरूको समस्या बारेमा आफू गम्भीर भएको तथा उनीहरूको माग सम्बोधनको लागि पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्