विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन


 


टोक्यो, ९ वैशाख

विश्वभरीका जीवित मानिसमध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।

जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमले आइतबार समाचार संप्रेषण गरेका छन् ।

उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबैभन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबैभन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबैभन्दा जेष्ठ नागरिक बन्नुभएको थियो ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापान कै नागरिक हुनुभएको छ । झण्डै ११२ वर्षका मसाजो नोनाका अहिले जीवित नागरिकमध्ये सबैभन्दा जेष्ठ नागरिक बन्नुभएको हो ।

जापानमा धेरै नागरिक लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिक एक सय वर्षभन्दा बढी उमेरका सरकारी स्रोतले गत वर्ष नै जानकारी दिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्