कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई मुद्दा लगाइने


 


काठमाडौ, वैशाख ९
सरकारले सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै बैंकबाट पैसा निकाल्ने यातायात व्यवसायीलाई सम्पति शुद्धिकरण मुद्दा लगाउने सरकारले चेतावनी दिएको छ ।

सिन्डिकेट हटाउने निर्णय गरेसंगै बैंक समिति र संघहरुले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिन्डिकेट हटेपछि यातायात समिति र संघरुले धमाधम पैसा झिक्न थालेकाले पैसा लुकाउने प्रयास गरे सम्पति शुद्धिकरण मुद्दा लगाइने बताए । अन्नपूर्णमा खबर छ ।

उनले पैसा झिकेर कसैले पनि उम्किन नपाउने बताए । पैसा झिकेको रेकर्ड सरकारले निकाल्ने र छानविन गरेर बदमाशी गरेको पाइए कारबाही गरिने चेतावनी दिए ।

अहिले काठमाडौँदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट लगाउँदै आएको अरनिको यातायातले ठुलो परिमाणमा कोषमा जम्मा भएको रकम निकालेको पाइएको छ ।

अरनिको यातायात समितिले कोषमा रहेको ८० करोड रुपैयाँमध्ये १८ करोड रुपैयाँ झिकिसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसैगरी पृथ्वी राजमार्ग बस व्यवसयी समितिले पनि ३ करोड रुपैयाँ कोषबाट झिकिसकेको उच्च स्रोतले जनाएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका देश भरका ३ सय भन्दा धेरै यातायात समिति र संघलाई खारेज गर्दै कम्पनी मोडलमा जान बाध्य बनाएपछि समितिहरुले धमाधम पैसा झिक्न थालेका हुन् ।

जिल्ला प्रशासनमा दर्ता भएर सिन्डिके लाउँदै व्यवसायीहरुले कुनै रुटमा एउटा नयाँ गाडी लगाउँदा ५ देखि १० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य बाहिरिएको थियो ।

 

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्