बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामा : परराष्ट्रमन्त्री


 


काठमाडौँ, वैशाख ८
नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिवार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ (बिआरआई) अन्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताउनुभयो ।

चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेका जानकारी दिँदै उहाँले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताउनुभयो ।

सिचुवान प्रान्तका गभर्नरसँगको भेटमा चीनसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न सिचुवान प्रान्तमा नेपाली निर्यातयोग्य वस्तुहरुको सहज प्रवेशको लागि आग्रह गर्नुका साथै नेपाल र सिचुवान प्रान्तबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामथ्र्यबाट नेपालले पर्याप्त लाभ लिनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छन्दुमा नेपाल सरकारले वाणिज्यदूतावास स्थापना गर्न चाहेको बताउंदै त्यसमा सहयोग गर्न अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्