प्रदेश १ पत्रकार महासंघ निर्वाचन : ३२ जनाको उम्मेद्वारी


 


 

विराटनगर, ७ बैशाख। यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको २१ पदको निर्वाचनका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

१ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा कोषाध्यक्षसहित ८ जना निर्विरोध भएका छन् । उम्मेदवारको अन्तिम नामावली भने आइतबार प्रकाशित हुने निर्वाचन समितिका संयोजक दीपक दाहालले जानकारी दिनुभयो ।

निर्विरोध निर्वाचित हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् । यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशको अस्थायी राजधानी विराटनगरमा रहेको नेपाल पत्रकार महासंघ मोरङमा उमेदवारी मनोनयन केन्द्र तोकिएको थियो । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका हुन् । ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले समान उम्मेदवारी दिने घोषणा गरेका थिए ।

मनोनयन दर्ता गराएका उम्मेदवारहरुमा संयुक्त गठबन्धनबाट अध्यक्षमा चौतारीबाट विक्रम लुईटेल, उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र महासचिवमा प्रेस सेन्टरबाट विवेक गौतम रहेका छन् । यस्तै महिला उपाध्यक्षमा स्मीता निरौला, सचिवमा हरिकुमार राई, समावेशी सचिवमा बुद्धवीर राईलाई संयुक्त प्यानलबाट उठाइएको छ ।

यस्तै युनियन, चौतारी र प्रेस सेन्टरको गठबन्धनलाई चुनौति दिन अध्यक्षमा गोपाल देवान, उपाध्यक्षमा विजय खतिवडा, महिला उपाध्यक्षमा मनिता ताम्लिङ, महासचिवमा कमल देवान, सचिव समावेशीमा सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।

यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीको तर्फबाट मिलनके राउतले बाघी उम्मेदवारी दिएका छन् र खुल्ला सचिवमा प्रेस सेन्टरका मोहन भट्टराईले पनि बाघी उम्मेदवारी दिएका छन् ।

महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्