सवारी दुर्घटनामा दुई जनाको मृत्यु


 


 

मोरङ, ७ बैशाख ।  मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगर – ४ स्थित कोशी राजमार्गमा मारुती भ्यानको ठक्करबाट पैदलयात्री बृद्धको बिहिवार राती मृत्यु भएको छ ।

को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा सोही ठाउँका ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने भ्यान र त्यसका चालकलाई जिप्रका मोरङले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको बुद्धशान्ती गाउँपालिका –७ मा ट्याम्पु दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत बुद्धशान्ती–७ स्थित किटेनीमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ह ८७५८ नम्बरको ट्याम्पुको ब्रेक फेल भई दुर्घटना हुँदा ट्याम्पुमा सवार बुद्धशान्ति गाउँपालिका ४ बस्ने २० वर्षीया सुनिता लिम्बुको उपचारका क्रममा विर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

अन्य घाइतेहरुमा ट्याम्पुका चालक मोरङ पथरीशनिश्चरे–३ बस्ने ४५ वर्षीय सन्त लिम्बु, बुद्धशान्ती गाउँपालिका ४ बस्ने ५३ वर्षीय बुद्धिमाया सुब्बा र ४० वर्षीय भिमकुमारी सुब्बा रहेका छन । घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्