नक्कली सुन देखाई गठी गर्ने दुईजना पक्राउ, यस्तो थियो ठगी धन्दा


 


काठमाडौँ, वैशाख ७
नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

सुनजस्तो धातुलाई सुन भनी रु २८ लाख ६० हजार ठगी गर्ने रामेछापका अजय तामाङ र सोही ठाउँका विष्णु मोक्तानलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले बुधबार पक्राउ गरेको हो ।

पुस २३ गते भक्तपुर सूर्यविनायकका राजेन्द्र थापालाई नागार्जुन सेतो गुम्बा जाने बाटोमा रु २८ लाख ६० हजारमा ठगी गरी फरार भएको अनुसन्धानमा खुल्न आएको परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । यस्तै, विभिन्न कम्पनीका मोबाइल र ल्यापटप चोरी गरी फरार गिरोहलाई बुधबार पक्राउ गरेको छ ।

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ३३ थान मोबाइल, दुई थान आइफोन प्याड, टेलिभिजन दुई थान, डिजिटल क्यामरा दुई थान, नेपाली रुपैयाँ ४३ हजार ५००, भारतीय रुपैयाँ दुई हजार र पाँच थान ल्यापटपसहित काठमाडौँका दीपेश श्रेष्ठ र सिन्धुपाल्चोकका सुवास खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख पोखरेलले बताए । यसैगरी, बौद्ध वृत्तले नै सामाजिक सञ्जालमार्फत चिठृा पर्यो भन्दै रु एक लाख ४५ हजार ८०० ठगी गर्ने चितवनका अभिषेक गौतम र राम पौडेललाई बुधबार नै पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

ठगीमा संलग्न व्यक्तिलाई मुलुकी ऐनको ठगीको महलबमोजिम ठगी लिएको बिगोबमोजिम जरिवाना र पाँच वर्ष कैद हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्