अबदेखि मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई पनि नछोड्ने


 


काठमाडौँ, वैशाख ६
सरकारले यातायात व्यवसायी समितिको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसंगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकलाई कडा कारबाही गर्न तिब्रता दिएको छ ।

महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि अनुगमन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ – उनले भने । उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरे ।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको जनाएको छ। राससको सहयोगमा

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्