भूकम्प प्रभावित दोलखा र गोरखामा नागरिक छात्रवृत्ति वितरण गरिँदै
काठमाडौं, वैशाख ५
गैर–आवासीय नेपाली संघ थाइल्याण्डको पहलमा २०७४ मा स्थापना गरिएको नागरिक छात्रवृत्ति कोष मेगा बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा २०७५ वैशाकबाट कार्यान्वयन गरिने भएको छ ।
यस छात्रवृत्तिबाट २०७२ को महाभूकम्पबाट बढी प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीहरू लाभान्वित हुने भएका छन्, जसमध्ये छात्राहरूको सङ्ख्या कम्तिमा ५० प्रतिसत रहने छ ।
स्थानीय साझेदार नागरिक अभियानका अनुसार यस वर्ष गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यमिक विद्यालय, जौबारी तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभूमे माध्यमिक विद्यालय, बाब्रे र कालिनाग माध्यमिक विद्यालय, सुनखानीका ४० जना पिछडिएका विद्यार्थीहरूलाई (प्रत्येक विद्यालयबाट १० जना गरी) उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा अध्ययनरत पिछडिएका समुदायको, भूकम्प वा द्वन्द्व प्रभावित, अपाङ्गता भएका, गरिबीको रेखा मुनि रहेका, अनाथ वा एकल अभिभावक वा अपाङ्गता भएका अभिभावक लगायतका विभिन्न आधारहरूमा उक्त छात्रवृत्ति निर्धारण गरिएको थियो ।
शैक्षिक सत्र २०७५ मा कक्षा ९ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरी आरम्भ गरिने सो छात्रवृत्ति निज विद्यार्थीहरूले कक्षा १२ सम्म पाउनेछन् ।
विद्यार्थीको विद्यालय पोशाक, जुत्ता, खाजा, स्टेसनरी सामग्री र ब्यागका लागि निर्धारण गरिएको छात्रवृत्ति वापत प्रति विद्यार्थी प्रति शैक्षिक सत्र१४ हजार हज्जार पाँच सय लगायत ब्याग र केही स्टेसनरी सामग्री पाउनेछन् ।
२०७२ सालको महाभूकम्प र त्यसपछिका लगातार पराकम्पनबाट भएको जनधनको क्षति, गरिबी लगायत शैक्षिक सामग्री, पोशाक, जुत्ता, ब्याग, दिवा खाजा आदिको उचित व्यवस्था गर्न नसक्दा शिक्षा क्षेत्र बढी प्रभावित भएको र सिकाइ उपलब्धिमूलक नभएकोले जोखिममा परेका, पिछडिएको क्षेत्रका विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि टेवा पु¥याउने उद्देश्यले यो छात्रवृत्ति सञ्चालन गरिएको हो ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष प्रा. खगेन्द्र राज ढकालको नेतृत्वमा स्थापना गरिएको ३५ लाख, ८९ हजार ,९९९ अक्षय कोषसहितको उक्त छात्रवृत्तिको २०१७ को जुन महिनामा काठमाडौंमा माननीय शिक्षा मन्त्री गोपालमान सिंहले उद्घाटन गर्नुभएको थियो ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष तथा गैर–आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान कार्यकारी सदस्य प्रा. खगेन्द्र राज ढकालले नेपालको शिक्षा क्षेत्रमा सेवामुखी रूपमा कार्यरत संस्था नागरिक अभियानलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अक्षय कोषमा मेगा बैङ्क लिमिटेडले कम्तिमा पाँच वर्षका लागि वार्षिक तीन लाख अनुदान प्रदान गर्ने सम्झौता समेत गरेको छ ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्डका वर्तमान अध्यक्ष आशाजित अवालेका अनुसार उक्त अक्षय कोषका लागि रकम बैङ्ककमा ५–दिने नेपाल मेला २०१५, ‘एभरेष्ट बेस–क्याम्प’ नामक किताबको रोयल्टी लगायत विभिन्न कार्यक्रममार्पmत् सङ्कलन गरिएको थियो ।
नागरिक अभियानले उक्त छात्रवृत्तिका लागि शिक्षाविद् हेमन्त राज दाहालको संयोजकत्वमा नागरिक छात्रवृत्ति समिति पनि गठन गरेको छ ।
सो समितिमा गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष पदेन रहने व्यवस्था छ । छात्रवृत्ति वितरण तथा अनुगमनका लागि विद्यालय स्तरमै एक स्थानीय समिति गठन गरिन्छ, जसको नेतृत्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्दछन् ।
उक्त समितिमा विद्यालयको प्रधानाध्यापक, वडा अध्यक्ष र स्थानीय समुदायका प्रतिनिधिहरू पनि रहने व्यवस्था छ ।
यस छात्रवृत्तिका लागि एक महिना अगाडि नागरिक अभियानका बोर्ड सदस्य दोर्जे लामा गुरुङ (मुखिया)को समन्वयमा गोरखा जिल्लामा र सञ्चारकर्मी तथा छात्रवृत्ति समितिका सदस्य रमेश खड्काको समन्वयमा दोलखा जिल्लामा विद्यालय स्तरीय छात्रवृत्तिका लागि स्थानीय समिति गठन गरिएको थियो ।
सो नागरिक छात्रवृत्ति आगामी वैशाक ६ गते (१९ अप्रिल)मा गोरखा र वैशाख १० गते (२३ अप्रिल) का दिन दोलखामा वितरण गरिने कार्यक्रम रहेको छ ।
नागरिक छात्रवृत्ति बोर्डका कार्यकारी सदस्य तथा कान्तिपुर सिटी कलेजका कार्यकारी निर्देशक प्रह्लाद कार्की, गैर–आवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ गाबो, नागरिक अभियानका कार्यकारी सदस्यहरू क्रमशः दोर्जे गुरुङ्ग मुखिया र नारायण श्रेष्ठ, गैर–आवासीय नेपाली संघ थाइल्याण्डको इलाका संयोजक डिल्ली ज्ञवाली, मेगा बैङ्कका प्रतिनिधि का साथै इभेन्ट कोअर्डिनेटर, राजिव तिमिल्सिना उक्त कार्यक्रममा सहभागी हुनका लागि वैशाक ५ गते गोरखा तर्फ प्रस्थान हुँदै छन् ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्ड का महासचिव रवि महर्जनका अनुसार सो छात्रवृत्तिलाई अब चाँडै नै १०० जनासम्म पु¥याउनका लागि थप रकम सङ्कलनका लागि कार्यक्रमहरू गर्ने गैर–आवासीय नेपाली संघ थाइल्याण्डको आगामी योजना रहेको छ ।
प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार