पार्टी एकताः वैशाख ९ गते पनि टर्दै, यस्ता छन् प्रमुख कारण


 


काठमाडौं, वैशाख ५

पार्टी र सरकार नेतृत्वको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ। यद्यपि, विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

दुई दलको एकता संयोजन समितिको मंगलबारको बैठकमा माओवादीका तर्फबाट पार्टी एकतापछिको पार्टी र सरकारको नेतृत्वबारे प्रश्न उठेको थियो।

यसअघि महाधिवेशनसम्म दुई अध्यक्ष रहने र सहमतिमा एकता महाधिवेशन गर्नेमा एमाले र माओवादीबीच समझदारी बनेको थियो। तर, पछिल्लोपटक माओवादी केन्द्रका नेताले पार्टी एकतासमेत बराबरीका आधारमा हुनुपर्ने धारणा व्यक्त गर्दै आएपछि विवाद देखिएको स्रोतले बतायो। अन्नपूर्णमा खबर छ ।

पूर्वघोषित मितिमै एकता गर्ने ठोस निर्णय लिने अपेक्षा गरिएको संयोजन समितिको मंगलबारको बैठकमा गृहकार्य नपुगेको भन्दै एकताको मिति घोषणा हुन सकेन। दुई दलका वैचारिक र विधान कार्यदलले चैत २२ गते ओली र दाहाललाई प्रतिवेदन बुझाउँदा वैशाख ९ मा पार्टी एकता गर्ने घोषणा गरिएको थियो।

कम्युनिस्ट पार्टी स्थापनाको दिन भन्दै वैशाख ९ लाई एकताका लागि चयन गरिएको थियो। कार्यदलले पार्टी एकतापछिको चुनाव चिह्न, सांगठनिक बाँडफाँट र जनयुद्धलाई विश्लेषण गर्ने विषयलाई विवादित सूचीमा राखेर प्रतिवेदन बुझाएका थिए। तर, ती विषयमा हालसम्म औपचारिक निर्णय हुन नसकेको भन्दै एकता संयोजन समितिले दुई अध्यक्षलाई नै जिम्मा दिएको माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले बताए।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्