एमाले–माओबादी एकताः आज निर्णायक वार्ता


 


काठमाडौं, वैशाख ४
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ। नागरिकमा खबर छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।

वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन्।

‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले कार्यदलले बुझाएको मस्यौदामाथि मंगलबारदेखि छलफल गरेर अन्तिम रुप दिइने जानकारी गराउनुभयो । वैशाख ९ गते नै एकता हुने गरी पहल गर्ने निर्णय भएको छ।’

बैठकमा अध्यक्ष ओलीले वैशाख ९ गते नै पार्टी एकता हुने गरी छलफल अघि बढ्ने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो ।

नेम्वाङका अनुसार एकता संयोजन समिति बैठकले पारित गरेका विषयलाई एमाले पोलिटब्युरो तथा केन्द्रीय कमिटीबाट पारित गरिनेछ। एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्