प्रेम दिवस “भर्सेज” आमाको मुख हेर्ने दिन


 


रञ्जित लामा

केहि दिन अघिमात्रै क्रिसमसको शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु रंगिएका थिए । फेरि इश्वीसम्वतको नयाँ वर्ष आगमनको पूर्व संध्यादेखि नै सामाजिक सञ्जालका भित्ताहरु शुभकामना आदान–प्रदानका झिलिमिली तस्विर र सन्देशहरुले रंगिएको देखियो । तर, त्यसको तुलनामा बैशाख १ को रौनकता जति हुनुपर्ने थियो त्यति देखिएन, किन ?

आज आमाको मुख हेर्ने दिन÷माता तीर्थ औंसी के भेलेन्टाइन डे अर्थात प्रेम दिवसको रौनकतालाई यसले परास्त गर्न सक्ला त ? हुन त भ्यालेनटाइन डे र आमाको मुख हेर्ने दिनको आ–आफ्नै महत्व र गरिमा भएपनि आफ्नो र पराईको भेद बुझ्न नसक्नु किमार्थ राम्रो होइन ।

जुन युवा वर्गमा बढी देखिन्छ ।  सूचना प्रविधिको तीव्र विकासले विश्वलाई एउटा सानो गाउँको रुपमा बदलिदिएकाले विश्वका जुनसुकै कुनामा मनाइने चाडपर्व, संस्कृति र लवाइ खवाइ पनि विश्वभरीका जनता माझ अब अपरिचित र नौलो नहुने भएको छ । त्यसैगरि यातायातको विकासले पनि अब केहि घण्टा भित्रै विश्वभरी सजिलै आवतजावत गर्न सम्भव भएकाले पनि मानिसले एक अर्काको संस्कृति जान्ने र बुझ्ने मौका पाएका छन् ।

मानवीय स्वभाव एक अर्काको सिको वा नक्कल गर्ने भएकाले नेपाली समाजमा पछिल्लो वर्ष बिदेशी संस्कृति र पर्बहरु नेपाली जनजिब्रोमा सहजै झुण्डिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा वैदेशिक रोजगारी, अध्ययनको शिलशिलामा विदेशिने चलनले पनि यसलाई थप मद्दत गरेको छ ।

यसरी विदेशी संस्कृति नेपालमा भित्रिरहेको वर्तमान सन्दर्भमा कतिपय संस्कृतिविदहरुले यसलाई नेपाली संस्कृतिमाथि अतिक्रमण भईरहेको तर्क प्रस्तुत गर्दछन् । र नेपाली संस्कृतिको अस्तित्व मेटिने खतरा रहेको बताउछन् । भने कतिपय विद्वानले विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा यसलाई स्वाभाविक मान्दछन् र यसबाट नेपाली संस्कृति थप परिस्कृत हुदैँ जाने तर्क गर्दछन् ।

माथि प्रस्तुत तर्कहरु आ–आफ्नो ठाउँमा दुवै सहि हुन सक्छन् । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपालमा वर्तमानमा जुन प्रकारले विदेशी संस्कृतिको प्रचार–प्रसार भएको छ र हाम्रो दैनिक जीवनमा जसरी हामीले अवलम्वन गरिरहेका छौं, त्यसरी हाम्रो नेपाली चाडपर्व र संस्कृति पनि विश्वका अन्य भागमा बस्ने विदेशीहरुले पनि मनाईरहेका वा अवलम्वन  गरिरहेका छन् त ? विश्वव्यापीकरणको कारणले अन्य देशको संस्कृतिको प्रचार जसरी भएको छ, के नेपाली संस्कृतिको पनि प्रचार–प्रसार भईरहेको छ त ?

हाम्रै अकर्मण्यताकै कारणले नेपाली संस्कृतिको व्यापकता र उत्थान नभएको तथा हाम्रो नयाँ पिढीहरु पथभ्रष्ट हुदै क्रमशः विदेशी संस्कृतिको नक्कल गरिरहेको तथ्यले निश्चित रुपमा हरेक स्वाभिमानी नेपालीलाई एकचोटी भित्रैदेखि कोपर्छ, र सवै नेपालीलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउँछ । जसरी हरियो रङ र रातो चुच्चा भएको कारणले चराको हजारौँ प्रजाती बीच पनि सुगाको छुटै पहिचान र विशेषता छ ।

यदि सुगाले कालो रङ ग्रहण गरे त्यसलाई कसले सुगा भन्ला र ? त्यसै गरि हामी नेपालीले पनि अरुको संस्कृति नक्कल गरे कसले हामीलाई नेपाली भन्ला ? अरुको संस्कृतिको नक्कल गरेर आफ्नो मौलिक पहिचान गुमाउनु भन्दा आफ्नो संस्कृतिलाई माया गर्न सिकौं ।

आज आमाको मुख हेर्ने दिन÷माता तीर्थ औंसीको गरिमालाई मनन् गर्दै आफ्नो संस्कार र संस्कृतिप्रति बफादार हुन सबै नेपालीलाई हृदयदेखि अनुरोध छ !

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्