ओली र प्रचण्डबीच आज भेटवार्ता होला त ?


 


काठमाण्डौँ, ३ बैशाख । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा सोमबार फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैहुनुहुन्छ ।

प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आईतबार साँझ हुने भनिएको एमाले–माओवादी वार्ता हुन सकेको थिएन । एक रात सुकुटेमा आराम गर्नुभएका प्रचण्ड सोमबार बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जान लाग्नुभएको हो । त्यसअघि ओली–प्रचण्डबीच फोन वार्ता भएको स्रोतले बताएको छ । एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ ।

ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । चुनाव चिह्नमा केही लचक देखिएको माओवादी पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द राख्नुपर्ने र केन्द्रीय समितिमा बराबरी सदस्य संख्या हुनुपर्ने अडानमा छ ।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्