अलमलमा पार्टी एकता, प्रचण्ड बैठक छोडेर लागे सुकुटेतर्फ


 


काठमाडौं, वैशाख ३
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो। नागरिकमा खबर छ ।

दुवै पार्टीका नेताहरुले वैशाख ९ गते पार्टी एकता हुने भनेर सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका थिए । दाहालले आइतबार वार्ता छाडेर हिँडेपछि दुई दलबीच विश्वासको वातावरण बनिनसकेको देखिएको छ। पछिल्लो समयमा माओवादी नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दैै आएका छन्।

दुवै दलबीच एकीकृत दलमा एमाले र माओवादीबाट सहभागिताको अनुपात, पार्टी विधानमा जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नका विषयमा सहमति जुट्न बाँकी छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका तीनदिने भ्रमण सकेर काठमाडौं फर्के पनि अध्यक्ष दाहाल सपरिवार आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका हुन् ।

ओली र दाहालबीच एकताका विषयमा आइतबार साँझ छलफल हुने कार्यक्रम तय भएको थियो । ‘दुवै अध्यक्षबीच आइतबार वान अन वान छलफल हुने कार्यक्रम थियो । त्यसपछि सोमबार संयोजन समितिको बैठक बस्ने पूर्वतयारी थियो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर आइतबार दुई अध्यक्षबीच छलफल हुन सकेन । छलफलमा समाधान हुन बाँकी रहेका विषय टुंग्याउने भनिएको थियो।’

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपात, पार्टी विधानमा माओवादी जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नबारे निकास दिन नसकेपछि त्यसलाई अन्तरिम विधान मस्यौदा कार्यदलले दुवै दलको शीर्ष नेताहरु सम्मिलित केन्द्रीय एकता संयोजन समितिमा पठाएको थियो।

 

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्