चट्याङले ट्रान्सफर्मर जल्दा विद्युत् सेवा अवरुद्ध, चार गाउँपालिकाबासी अँध्याराेमा


 


सिन्धुली, वैशाख २

नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

शव स्टेशनमा रहेको १५०० केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लिलानाथ अर्यालले बताउनुभयो ।

उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् वितरण हुने गरेको थियो । ट्रान्सफर्मर जलेका कारण अहिले उक्त क्षेत्रमा विद्युत् उपलब्ध गराउन नसकिएको र छिट्टै विद्युत् उपलब्ध गराउनेतर्फ भने आफूहरू काममा निरन्तर लागि परेको उहाँले बताउनुभयो ।

सो ट्रान्सफर्मर जडान गर्न अझै केही दिन लाग्ने भएकाले अबको दुई हप्तासम्म सहजताका साथ विद्युत् उपलब्ध नहुने पनि उहाँले जानकारी दिनुभयो ।

यता दुई दिनदेखि ती गाँउपालिकामा विद्युत् नहुँदा मोबाइल तथा फोन चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत वञ्चित हुन परेको उपभोक्ताको गुनासो रहेको छ ।

सञ्चार सुविधाबाट वञ्चितसँगै कुटानी तथा पिसानीका मिल सञ्चालन नहुँदा नागरिक प्रत्यक्ष मारमा परेका छन् । दुई तीन दिनदेखि विद्युत् नआउँदा पनि प्राधिकरणले ट्रान्सफर्मर जडान तथा विद्युत् वितरणमा ध्यान नदिएको उपभोक्ताले आरोप लगाएका छन् । रासस

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्