गजल (नयाँ वर्ष विशेष)
रमा भट्टराई
कैलाली
चर्किएका घाउहरुमा मलम पट्टी लाउनु नयाँ वर्ष
पुछिएका सिउँदोहरुमा खुशी बनी छाउनु नयाँ वर्ष
भोकाको भोजन नाङ्गाको आङहरु ढाक्न सक्नु तिमी
जीवन सवैको नयाँ–नयाँ उमंगले रंगाउनु नयाँ वर्ष
परिवारको गर्जो टार्न छोरा बिदेश भासिएका जति
आफ्नै माटोमा पसिना बगाउन फर्काउनु नयाँ वर्ष
एक्लिएको टाढीएको आफन्त मनलाई जोड्नलाई
सातै सरगम संगीतको धून बोकी ल्याउनु नयाँ वर्ष
बाँढिएका समृद्धिका नाराहरु नारामै सिमित हुनै हुन्न
विकास निर्माणका सबै द्वारहरुलाई बनाउनु नयाँ वर्ष ।।
प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार