मुख्यमन्त्री राईद्धारा नयाँ वर्षको शुभकामना


 


विराटनगर, वैशाख १
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दे प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गरेर आफ्नै पौरखले प्रदेशलाई समृद्ध एंव सम्मुनत वनाउने दायित्व रहेको बताउनु भएको छ ।

शुभकामना सन्देशमा भनिएको छ,–‘नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस् ।’

२०७४ साल संविधान कार्यान्वयनको महत्वपूर्ण साथै निर्वाचन वर्षको रुपमा वितेको भन्दै मुख्यमन्त्री राईले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सहभागी भएर आफ्नो अभिमत जाहेर गर्ने सबै मतदाताहरुलाई धन्यवाद समेत दिनुभएको छ ।

‘म दाजुभाई तथा दिदीबहिनीहरुमा आफूले चुनेका प्रतिनिधिहरुका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन हार्दिक अनुरोध गर्दछु, मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।’

देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको जनाउ दिँदै जारी सन्देशमा भनिएको छ, ‘भर्खरै गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्दे विकास र समृद्धि ल्याउन दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।’

नयाँ वर्ष २०७५ विकास र समृद्धिको स्मरणीय वर्षका रुपमा अंकित हुने मैले विश्वास लिएको छु साथै यसका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गरेको छु, सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री राईले नयाँ आशा, उमंग र उत्साह सहित नयाँ वर्ष २०७५ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्