मोरङका बाढीपिडितलाई खानेपानी र शौचालयको समस्या


 


उर्लाबारी (मोरङ), ३० चैत्र । मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् ।
सञ्चार क्लब नेपाल उर्लाबारीले शुक्रवार आयोजना गरेको कार्यक्रममा बाढीपिडित गोपाल हुमागाईले तीन बर्षदेखि कठिन तरिकाले जिविकोपार्जन गर्दै आएको गुनासो गर्नुभयो ।

तत्काल शौचालय र खानेपानीको उचित प्रबन्ध मिलाइदिन उहाँले आग्रह गर्नुभएको छ । स्थानीय मिक्लु सामुदायिक वनको खाली जग्गामा बसोबास गर्दै आएका २५ परिवार अझैसम्म घर फर्किन सकेका छैनन् । बाढी पीडितका समस्या समाधानका लागि पहलकदमी गर्ने उद्देश्यले मिक्लाजुङ गाउँपालिकाको साझेदारीमा बाढीपीडितहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

उर्लाबारीस्थित गोदावरी हस्पिटलको प्राविधिक टोलीले ४० जना बाढीपीडितहरुको स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक केशब खड्काले जानकारी दिनुभयो । सोही अवसरमा नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष बुद्धिलाल निरौला, गोदावरी हस्पिटल प्रा.लि.का सञ्चालक प्रकाश चौहानलगाययतको उपस्थिति थियो ।

गाउँपालिका प्रमुख आचार्यले विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाका अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले मिक्लाजुङका अधिकांश भू–भाग पहाडी क्षेत्र भएका र सडक, खानेपानी, विजुलीजस्ता आधारभूत कुराहरु बढी समस्या रहेको बताउनुभयो । बाढी पीडितको समस्या जटिल रहेको उल्लेख गर्दै जतिसक्दो चाँडो समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो । यस्तै, वडाध्यक्ष बुद्धिलाल निरौलाले बाढीपीडितहरुको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिनुभएको छ । खोला तटबन्धन भएपनि अझै ढुक्क हुने अवस्था नरहेको उहाँको भनाई छ ।

कार्यक्रम सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको थियो । सोही अवसरमा क्लबद्वारा प्रकाशित २०७५ सालको क्यालेण्डर विमोचन पनि गरिएको थियो ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्