प्रहरीलाई गृह मन्त्रालयको कडा निर्देशन


 


काठमाडौं, ३० चैत । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले शुक्रवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो ।

यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहेपनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्