डोल्पालाई सडक सञ्जालमा छिटो जोड्न रु २० करोड दिइने


 


डोल्पा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको डोल्पाकोे विकासका लागि सबैभन्दा पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनुपर्ने बताउनुभएको छ ।

नयाँ वर्षसँगै शुरु हुन लागेको ‘कर्णाली रारा पर्यटन वर्ष’को उद्घाटनका लागि मुगु जाने क्रममा डोल्पा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले डोल्पालाई चालु आवभित्रै सडक सञ्जालमा छिटोभन्दा छिटो जोड्नका लागि रु २० करोड उपलब्ध गराइने जानकारी दिनुभयो । यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको स्वदेशमै स्थायी उत्पादन प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउँदै उहाँले हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर अङ्गुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिनेमा जोड दिनुभयो ।

असुरक्षित ठाउँमा बसेका जनतालाई एकीकृत बस्तीका रुपमा विकास गरी सुरक्षित स्थानमा सार्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलीप्याडको व्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको व्यवस्था गरिने बताउनुभयो ।

वैशाख ५ गतेदेखि सरकारले सबै बालबालिकालाई भर्ना अभियानका रुपमा लिएकाले सबैलाई आआफ्ना बालबालिका विद्यालय भर्ना गर्न अनुरोध गर्दै उहाँले विपन्न परिवारका बालबालिकालाई काठमाडौँमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने भएकाले विपन्न परिवारका बालबालिका पहिचान गरेर पठाइदिनसमेत आग्रह गर्नुभयो । रासस

 

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्