अमेरिकाबाट आउँदैछ एक खर्ब ५ अर्ब रुपैयाँ लगानी, १६ हजारले रोजगारी पाउने


 


काठमाडौं, चैत ३०
एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताए ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो ।

स्काई पावर ग्लोबलले एक वर्षमा २ सय मेगावाटका दरले ३ वर्षमा ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको मन्त्री पुनले जानकारी दिए । यस अवधिमा प्रतिवर्ष नेपालमा १६ हजार २ सय १७ रोजगारी सिर्जना हुने उनले जानकारी दिए ।

ग्रिन जायन्ट पावर नेपालका माध्यमबाट हुने लगानीबाट नेपालमा सौर्य ऊर्जाको विद्युत् परियोजना सञ्चालन मात्रै होइन, सोलार प्यानल नै उत्पादन गर्ने कारखानासमेत स्थापना हुनेछ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्