सुरक्षा चुनौतीको सामनाका लागि तयार रहन निर्देशन


 


भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधै तयार रहन निर्देशन दिनुभएको छ ।

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुक अहिले शान्तिपूर्ण अवस्थामा रहे पनि भविष्यमा आउन सक्ने खतरातर्फ सजग हुनुपर्ने औल्याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो देशभित्र केही अतिवादी तत्वहरू हिंसात्मक गतिविधिमा सक्रिय हुन थालेका छन्, देशमा जातीय र क्षेत्रीय नाममा द्वन्द्व फैलाउने सक्ने खतरा देखिएको छ, यी विषयहरू सुरक्षा चुनौतीको रुपमा आउन सक्छ, यसतर्फ सचेत हुन आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका विभिन्न आयामको जानकारी लिई एक्काइसौँ शताब्दीको मुख्य चुनौती र खतरा साइबर सुरक्षाका लागि भरपर्दाे योजना बनाएर सुरक्षा निकायबीच समन्वय गर्न आग्रह गर्नुभयो । नेपाली सेनाले देश निर्माण र शान्ति सैनिकका रुपमा विश्वमा चिनाएको छ भन्दै उहाँले प्रशंसा गर्नुभएको थियो । रासस

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्